काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सार्वजनिक तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा समयसीमा निर्धारण गरेको छ। पछिल्लो समय उक्त सडकखण्डमा सडक दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षतिसमेत हुन थालेपछि प्रशासनले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारीसाधन सञ्चालनका लागि नयाँ समयतालिका निर्धारण गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार तोकिएको समयपछि उक्त सडकखण्डमा सार्वजनिक तथा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
त्यसैले काठमाडौं–हेटौँडा यात्रा गर्ने यात्रु, यातायात व्यवसायी तथा चालकले प्रशासनले तोकेको समयतालिका अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। प्रशासनको यस निर्णयले रातिको समयमा यात्रा गर्ने यात्रु प्रभावित हुने भए पनि दुर्घटनाको जोखिम न्यूनीकरण र यात्रु सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो।
सवारी सञ्चालनको अन्तिम समय र अन्य व्यवस्थाबारे प्रशासनले जारी गरेको आधिकारिक सूचनाअनुसार यात्रा तय गर्न आग्रह गरिएको छ ।
यस्तो छ समय तालिका
१. काठमाडौंबाट बल्खु- दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधनहरु बेलुका ८:०० बजे सम्ममा प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्ने ।
२. विहान ५:०० बजेपछिमात्र बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्ने ।
३. यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनहरुको अवस्थाको पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्ने ।
४. काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटहरुले (ट्राफिक प्रहरी समेत) कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाउने ।

वि.सं.२०८३ कात्तिक २७ शुक्रवार २०:५३ मा प्रकाशित

















