काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार देशभर हर्षोल्लासका साथ मनाइएको छ । यस पर्वमा कुकुरलाई पूजा, सम्मान तथा मीठा परिकार खुवाएर धार्मिक एवं सांस्कृतिक परम्परालाई निरन्तरता दिदै मनाइएको हो ।
कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा लिने धार्मिक मान्यता छ। घरको सुरक्षादेखि विभिन्न काममा सहयोग पुर्याउने कुकुरप्रति सम्मान प्रकट गर्दै आज सर्वसाधारणले कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा खानेकुरा खुवाउने गरेका छन् ।
यस अवसरमा सडक तथा घरपालुवा कुकुरलाई समेत माला र टीका लगाएर पूजा गर्ने गरिएको छ। विभिन्न स्थानमा बालबालिका, युवायुवती तथा सर्वसाधारणले उत्साहपूर्वक कुकुर तिहार मनाइरहेका छन् ।
कुकुर तिहारले मानव र जनावरबीचको आत्मीय सम्बन्ध, प्रेम, सद्भाव र सहअस्तित्वको सन्देश दिने गर्दछ। नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएको यस पर्वले पशुप्राणीप्रति दया, माया र सम्मान गर्नुपर्ने सन्देश सहित कुकुर तिहार मनाइएको हो ।
वि.सं.२०८३ कात्तिक २२ आइतवार १०:५१ मा प्रकाशित















