back
Close [x]
rudrakshaByavasayi Ad long banner

देउसी भैलोको मौलिकता झल्काउँदै ‘तिहारै झिलिली’ गीत सार्वजनिक 

वि.सं.२०८३ कात्तिक २३ सोमवार

39 

shares

काठमाडौं । नेपालीहरूको सांस्कृतिक पर्व तिहारको उल्लास र मौलिक देउसी भैलोको परम्परालाई समेटेर तयार पारिएको नयाँ देउसी भैलो गीत ‘तिहारै झिलिली’ सार्वजनिक भएको छ। लोकप्रिय गीतकार अनिल खनालको शब्द रचनामा तयार भएको उक्त गीत हेमराज डाँगीको लय तथा स्वर र गायिका अञ्जु विश्वकर्माको स्वरमा सजिएको छ।

तिहारको सांस्कृतिक महत्त्व, देउसी भैलोको मौलिकता तथा चाडपर्वको उमंगलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको गीतले नेपाली लोकसंस्कृति र परम्परालाई उजागर गरेको छ। गीत सार्वजनिक भएसँगै तिहार विशेष सांगीतिक प्रस्तुतिका रूपमा यसले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ। गीतको म्युजिक भिडियो दिनेश सिंह ठकुरीको निर्देशनमा तयार पारिएको हो ।

भिडियोको छायांकन सरोज ठकुरीले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन राजेश कुमारले गरेका छन्। हेमराज डाँगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा लोकेश बीसी, प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्पा सेन्टुरी, आशिष ओली, बाद शाह, सुस्मिता खत्री, नारद बीसी, जुनु रिमाल र नागेन्द्र चौलागाईंसहितका कलाकारहरूको अभिनय तथा नृत्य देख्न सकिन्छ।

नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार खनाल पछिल्लो समयका सक्रिय तथा व्यस्त सर्जकमध्ये एक मानिन्छन्। आधुनिक, लोकदोहोरी, पप तथा चलचित्र गीतलगायत संगीतका विभिन्न विधामा कलम चलाउँदै आएका खनाल विविध भाव, विषयवस्तु र शैलीमा गीत सिर्जना गर्न सक्ने गीतकारका रूपमा परिचित छन्।

उनका सिर्जनामा प्रेम, जीवन, सामाजिक परिवेश, मौलिकता तथा नेपाली संस्कृति जस्ता विषयवस्तुले स्थान पाउँदै आएका छन्। हरेक विधाका गीतमा आफूलाई प्रस्तुत गर्न सक्ने उनको सिर्जनात्मक क्षमताले नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता कायम राख्न सहयोग पुर्याएको छ। ‘तिहारै झिलिली’ मार्फत पनि खनालले तिहारको मौलिक सांस्कृतिक पक्षलाई शब्दमार्फत प्रस्तुत गरेका छन् ।

गायक हेमराज डाँगी र गायिका अञ्जु विश्वकर्माको स्वर तथा संगीत पक्षसँगै कलाकार र प्राविधिक टोलीको मेहनतले गीतको प्रस्तुतिलाई थप आकर्षक बनाएको छ।तिहारको रौनकसँगै नेपाली मौलिक संस्कृति, परम्परा र देउसी भैलोको मिठासलाई दर्शकमाझ पुर्याउने अपेक्षासहित सार्वजनिक गरिएको ‘तिहारै झिलिली’ अहिले दर्शक तथा श्रोतामाझ पुगेको छ।

वि.सं.२०८३ कात्तिक २३ सोमवार ०९:४० मा प्रकाशित