back
Close [x]
rudrakshaByavasayi Ad long banner

जीवन बीमकले तीन महिनामै भित्र्याए ५७ अर्बको व्यवसाय, प्रथम बीमाशुल्क आर्जनमा ३३.६७ प्रतिशतको उछाल

नवीकरण बीमाशुल्क ४४ अर्ब ७६ करोड

वि.सं.२०८३ कात्तिक २२ आइतवार

156 

shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मा जीवन बीमा कम्पनीहरूको समग्र व्यवसायमा उल्लेख्य वृद्धि देखिएको छ। यस अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यसरी गत वर्षको तुलनामा चालु वर्षको पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १६.८५ प्रतिशतले विस्तार भएको हो।

कुल बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा कायम रहेको छ। कम्पनीले असोजसम्म १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ थियो। त्यस्तै, नेसनल लाइफले ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ। गत वर्षको ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँको तुलनामा कम्पनीको व्यवसाय २९.५१ प्रतिशतले बढेको हो। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ५ अर्ब ४५ करोड ७८ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ। कम्पनीको बीमाशुल्क संकलन गत वर्षको ४ अर्ब ९८ करोड ३४ लाख रुपैयाँबाट ९.५२ प्रतिशतले बढेको हो।

यसैगरी हिमालयन लाइफले ५ अर्ब १५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ र एसियन लाइफले २ अर्ब ७८ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

सिटिजन लाइफले २ अर्ब ५२ करोड १ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ५८ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब १७ करोड रुपैयाँ, मेटलाइफले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८४ करोड ५ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ संकलन गरेका छन्। कुल बीमाशुल्क संकलनको वृद्धिदरमा भने आइएमई लाइफ सबैभन्दा अगाडि रहेको छ।

नवीकरण बीमाशुल्कमा १२.८० प्रतिशतको वृद्धि, नेपाल लाइफ शीर्ष स्थानमा

जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा नवीकरण बीमाशुल्कको योगदान ठूलो देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीले ४४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संकलन ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ थियो। यस आधारमा नवीकरण बीमाशुल्क संकलनमा १२.८० प्रतिशतको वृद्धि देखिएको छ। समीक्षा अवधिमा सबै कम्पनीको नवीकरण बीमाशुल्क बढेको तथ्यांकले देखाउँछ।

नवीकरण बीमाशुल्क संकलनमा नेपाल लाइफ ११ अर्ब ५७ करोड ७६ लाख रुपैयाँसहित पहिलो स्थानमा छ। गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ७४ करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो। यो ७.७३ प्रतिशतको वृद्धि हो। नेसनल लाइफले ५ अर्ब २४ करोड ९४ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ। गत वर्षको ४ अर्ब ३६ करोड ७८ लाख रुपैयाँको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क २०.१८ प्रतिशतले बढेको हो। तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीको संकलन गत वर्षको ४ अर्ब ३० करोड ४० लाख रुपैयाँबाट ७.९० प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ र हिमालयन लाइफले ४ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको संकलन ११.०५ प्रतिशत र हिमालयन लाइफको १४.६६ प्रतिशतले बढेको छ। सूर्यज्योति लाइफले २ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब १० करोड ९१ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ र आइएमई लाइफले १ अर्ब ४० करोड ६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। यी कम्पनीहरूको वृद्धिदर क्रमशः १५.८४, १६.४२, १०.५९, १६.४३ र ३१.१६ प्रतिशत रहेको छ।

यसैगरी मेटलाइफले १ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २८ करोड ९० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २४ करोड १० लाख रुपैयाँ र सन नेपाल लाइफले ८६ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको तुलनामा यी कम्पनीहरूको नवीकरण बीमाशुल्क क्रमशः ८.६०, १९.३५, १८.४३ र १३.७८ प्रतिशतले बढेको छ। रकमका आधारमा नेपाल लाइफ अगाडि रहे पनि नवीकरण बीमाशुल्कको वृद्धिदरमा आइएमई लाइफले सबैलाई उछिनेको छ।

नयाँ व्यवसायमा ३३.६७ प्रतिशतको फड्को, आइएमई लाइफको वृद्धिदर सर्वाधिक

जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख बिक्रीबाट आर्जन गर्ने प्रथम बीमाशुल्कमा पनि उल्लेख्य सुधार गरेका छन्। चालु आर्थिक वर्षको असोजसम्म १४ वटा जीवन बीमा कम्पनीले १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संकलन ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा नयाँ व्यवसाय ३३.६७ प्रतिशतले बढेको हो। कम्पनीगत विवरणअनुसार १४ मध्ये १३ कम्पनीको नयाँ व्यवसाय बढेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको छ।

नयाँ व्यवसाय संकलनमा पनि नेपाल लाइफ पहिलो स्थानमा रहेको छ। कम्पनीले ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ, जुन गत वर्षको २ अर्ब ७० करोड ७९ लाख रुपैयाँभन्दा १६.३७ प्रतिशत बढी हो। नेसनल लाइफ २ अर्ब ११ करोड ३१ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। गत वर्षको १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँको तुलनामा कम्पनीको नयाँ व्यवसाय ६०.४६ प्रतिशतले बढेको हो। त्यस्तै, सूर्यज्योति लाइफले ८८ करोड ८८ लाख रुपैयाँ नयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ। गत वर्षको ६१ करोड ३२ लाख रुपैयाँको तुलनामा कम्पनीको नयाँ व्यवसाय ४४.९३ प्रतिशतले विस्तार भएको छ।

यसैगरी एलआईसी नेपालले ८१ करोड ३९ लाख रुपैयाँ, सिटिजन लाइफले ७७ करोड २३ लाख रुपैयाँ, आइएमई लाइफले ७३ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफले ६९ करोड १७ लाख रुपैयाँ र एसियन लाइफले ६७ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफले ६४ करोड २२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६० करोड ९८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५५ करोड १४ लाख रुपैयाँ, मेटलाइफले ४६ करोड ९९ लाख रुपैयाँ, सन नेपाल लाइफले ३३ करोड २० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ३० करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको तुलनामा सानिमा रिलायन्स लाइफको नयाँ व्यवसाय ४७.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको ४९.२२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७२.०२ प्रतिशत, मेटलाइफको २४.४३ प्रतिशत र सन नेपाल लाइफको ६८.२१ प्रतिशतले बढेको छ। तर, राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय भने ३३.२२ प्रतिशतले घटेको छ।

वि.सं.२०८३ कात्तिक २२ आइतवार १०:३५ मा प्रकाशित