back
Close [x]

प्रोटोन e.MAS5 ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड 

वि.सं.२०८३ कात्तिक २७ शुक्रवार

96 

shares

काठमाडौं । मलेसियाली विद्युतीय सवारी बजारमा लोकप्रियता बढाउँदै गएको प्रोटोन ई.मास ५ ले दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवाड्र्स २०२६’ मा ई.मास ५ ले दुई विधामा अवार्ड प्राप्त गरेको हो ।

प्रोटोन ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड जितेको छ । यी उपलब्धिले उपभोक्ताको रोजाइसँगै अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ पनि यस गाडीको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको झलकाएको छ ।

पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड विज्ञहरूको मूल्याङ्कनमा आधारित छ । गाडीको गुणस्तर, उपयोगिता तथा मूल्यलाई आधार मानेर प्रदान गरिएको उक्त सम्मानले ई.मास ५ को बजार उपस्थितिलाई थप बलियो बनाएको कम्पनीको विश्वास छ ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि उपयोगी सुविधासहित तयार गरिएको ई.मास ५ ले विद्युतीय सवारीलाई आम उपभोक्ताको पहुँचमा पुर्याउने प्रोटोनको लक्ष्यलाई समेत प्रतिनिधित्व गरेको नेपालका लागि वितरक कम्पनी जगदम्बा मोटर्स प्रालिले बताएको छ ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला यसले नेपाली बजारमा प्रवेश गरिरहेको प्रोटोन ई.मास ५ को आकर्षण र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार प्रोटोन मलेसियासँगको सहकार्यमा नेपाली बजारमा बिक्री तथा सेवा सञ्जाल विस्तार हुँदैछ ।

कम्पनीले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका सवारी साधन तथा नवीनतम विद्युतीय मोबिलिटी समाधान नेपाली ग्राहकसमक्ष उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । यसअघि प्रोटोन ई.मास ७ नेपाली बजारमा प्रस्तुत गरिसकेको कम्पनीले ई.मास ५ को आगमनलाई नेपालमा विद्युतीय सवारी विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको जानकारी दिएको छ ।

वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १२:५८ मा प्रकाशित