back
Close [x]
rudrakshaByavasayi Ad long banner

भाइटीका आज , उत्तम साइत ११:०७ बजे

वि.सं.२०८३ कात्तिक २५ बुधवार

18 

shares

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका रहेको छ । यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने छन् । पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको जानकारी दिएको छ  ।

भाइटीकालाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव तथा आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा लिइन्छ। यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी टीका र माला लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर सुखद जीवनको कामना गर्दै आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन् ।

धार्मिक मान्यताअनुसार भाइटीकाको सम्बन्ध यमराज र उनकी बहिनी यमुनासँग जोडिएको छ। यमुनाले आफ्ना दाजु यमराजको पूजा गरी दीर्घायु र कल्याणको कामना गरेको सम्झनामा यो पर्व मनाउने विश्वास छ। यस दिन गरिने पूजाआजाले दाजुभाइ तथा दिदीबहिनीको सम्बन्धमा स्नेह र सम्मान बढाउने मान्यता रहेको छ ।

भाइटीकामा सप्तरङ्गी टीकासँगै मखमली र सयपत्रीका मालाको विशेष महत्व हुन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेक्ने, ओखर फुटाउने तथा विभिन्न पूजा सामग्री प्रयोग गरी पूजा गर्ने चलन छ । यद्यपि, समुदाय, क्षेत्र र पारिवारिक परम्पराअनुसार पूजा विधिमा केही भिन्नता पाइन्छ। यी विविधताले पर्वको सांस्कृतिक समृद्धिलाई पनि झल्काउँछन्।

टीका लगाएपछि सेलरोटी, मिठाइ, फलफूल, मसला तथा अन्य परिकार खुवाउने चलन छ। परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खानपान गर्ने, कुराकानी गर्ने र शुभकामना साटासाट गर्ने भएकाले भाइटीका पारिवारिक पुनर्मिलनको अवसरसमेत हो ।

 

वि.सं.२०८३ कात्तिक २५ बुधवार ०९:०७ मा प्रकाशित