back
Close [x]
rudrakshaByavasayi Ad long banner

रसुवा बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि नाइमा द्वारा ५० लाख सहयोग

वि.सं.२०८३ भदौ २३ मंगलवार

12 

shares

काठमाडौं । रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमा सञ्चालक सदस्यहरू यमुना श्रेष्ठ, हेमन्त गोल्छा लगायतका प्रतिनिधिहरूका सहभागिता थियो । सो अवसरमा नाइमाकी अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्।

उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा संघ सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।

‘यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ अध्यक्ष वैद्यले भनिन् । नाइमाले विपद्का समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८३ भदौ २३ मंगलवार २२:२० मा प्रकाशित