काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार राजनीति सिक्न नभई नयाँ राजनीतिक संस्कार र अभ्यास स्थापित गर्न आएको बताएका छन् । जेन–जी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आफूहरू पुरानो राजनीतिक अभ्यासलाई निरन्तरता दिन नभई देशमा परिवर्तन ल्याउने उद्देश्यसहित सरकारमा आएको दाबी गरेका हुन् ।
गुरुङले रास्वपा आन्दोलनबाट मात्र नभई निर्वाचनमार्फत जनताको समर्थन प्राप्त गरेर सरकारको नेतृत्वमा पुगेको बताए । उनले आफूहरू सजिलै पद र सत्ता प्राप्त गर्न नआएको उल्लेख गर्दै देश परिवर्तन गर्ने स्पष्ट उद्देश्यका साथ सरकारमा आएको दाबी गरे । ‘हामी लड्न आएको हो, यत्तिकै टीका लगाएर आएको होइनौं,’ उनले भने, ‘चुनाव जितेर दुई तिहाइको बहुमत लिएर सरकारमा आएका हौं ।’
उनले नेपाललाई नयाँ ढंगले अघि बढाउने तरिका आफूहरूले सिकाउने दाबीसमेत गरे । नेपालको राजनीतिक प्रणाली, शासन सञ्चालन र जनताप्रतिको राज्यको जिम्मेवारीबारे नयाँ अभ्यास सुरु गर्ने उनको भनाइ थियो । पुराना राजनीतिक दलको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै गुरुङले विगतको राजनीतिले जनतालाई शासन गर्ने मानसिकता विकास गराएको आरोप लगाए । अहिलेको सरकार युवापुस्ताको सरकार भएको दाबी गर्दै उनले राज्यको भूमिका जनतामाथि शासन गर्ने नभई जनताको सेवा गर्ने हुनुपर्ने बताए ।
‘तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो,’ पुराना दलतर्फ संकेत गर्दै उनले भने, ‘यो युवाहरूको पुस्ताको सरकार हो । हामी सेवा गर्न सिकाउँछौं । यही हो नयाँ राजनीति ।’ गुरुङले राजनीतिक संस्कार र परम्पराका नाममा पुरानै शैलीलाई निरन्तरता दिन नसकिने बताए । समयअनुसार राजनीतिक संस्कार र शासन सञ्चालनको शैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले आफूहरू त्यही परिवर्तनका लागि आएको बताए ।
उनले सरकारको जिम्मेवारी सम्हाल्दा आफूले सकेसम्म नागरिकलाई दुःख नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । आफ्नो क्षमताले भ्याएसम्म सरकारको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने र नागरिकका समस्या समाधान गर्न प्रयास गर्ने उनको भनाइ थियो । कार्यक्रममा गृहमन्त्री गुरुङले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारप्रति पनि संवेदना व्यक्त गरे ।
आफ्ना छोरा–छोरी गुमाउनुको पीडा परिवारका लागि असह्य हुने उल्लेख गर्दै उनले शहीदहरूले देखेको परिवर्तनको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । शहीद परिवारलाई आफूलाई आफ्नै परिवारको सदस्यजस्तो सम्झेर व्यवहार गर्न आग्रह गर्दै गुरुङले शहीदका सपना र आन्दोलनको उद्देश्यलाई राज्यले सम्मान गर्ने प्रतिबद्धता जनाए ।
उनले जेन–जी पुस्ताले उठाएका परिवर्तनका मुद्दालाई केवल एउटा आन्दोलनका रूपमा नहेरी नयाँ राजनीतिक संस्कार निर्माणको आधारका रूपमा लिनुपर्ने बताए । युवापुस्ताको अपेक्षा, जनताको सेवा र शासन प्रणालीमा सुधारलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । गुरुङले नयाँ राजनीतिक अभ्यास स्थापित गर्न चुनौती भए पनि त्यसबाट पछि नहट्ने संकेत गरे ।
वि.सं.२०८३ भदौ २३ मंगलवार २१:४५ मा प्रकाशित



















