back
Close [x]
rudrakshaByavasayi Ad long banner

एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले लगानी गर्ने

वि.सं.२०८३ भदौ २० शनिवार

9 

shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र  ‘लस्ट इन मण्डला’  मा लगानी गर्ने भएको छ। विश्वव्यापी दर्शकलाई लक्षित गरी नेपालमै निर्माण भइरहेको मौलिक चलचित्रमा लगानी गर्ने सम्बन्धमा एनआइबिएल इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजबीच सम्झौता भएको हो।

उक्त लगानीले नेपालमा चलचित्र निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिलाई सहयोग पुग्ने कम्पनीले जनाएको छ। प्रस्तावित कारोबार सम्झौताअनुसार एनआइबिएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग १० करोड रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ। इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सह–निर्माणका लागि स्थापित ‘लस्ट इन मण्डला एलएलसी’सँगको सहकार्यमा परियोजनालाई अघि बढाइरहेको छ ।

एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सहयोग पुर्‍याउनेछ। उनका अनुसार नेपालमै सिर्जना भएका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु आवश्यक छ। ‘लस्ट इन मण्डला’ महत्वाकांक्षी तथा मौलिक परियोजना भएकाले यसको निर्माणमा नेपालभित्रबाट हुने सहयोगले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

एनआइएमबि एस क्यापिटलले यसअघि पनि ‘लस्ट इन मण्डला’ परियोजनालाई सहयोग गर्दै आएको जनाएको छ। साथै, ‘लस्ट इन मण्डला’ एनिमेटेड फेन्टासी एड्भेन्चर चलचित्र हो । चलचित्रको सिर्जना तथा निर्देशन किरण भक्त जोशीले गरेका छन् भने दीपा चिपालु जोशी निर्माता हुन् । हिमालय क्षेत्रका आध्यात्मिक परम्परा, पौराणिक कथा तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित चलचित्रले नेपाली कथालाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको छ। विश्वस्तरीय एनिमेसन प्रविधिमार्फत चलचित्रमा अपनत्व, मित्रता, करुणा तथा आत्म–अन्वेषणजस्ता विषयवस्तुलाई प्रस्तुत गरिने जनाइएको छ।

चलचित्रको पटकथा विख्यात पटकथा लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन्। उनले ‘थोर’, ‘एक्स–मेनः फर्स्ट क्लास’ तथा नेटफ्लिक्सको ‘जुरासिक वर्ल्डः क्याम्प क्रेटासियस’ लगायतका परियोजनामा काम गरिसकेका छन्। एनआइबिएल इक्विटी पार्टनर्ससँगको साझेदारीपछि चलचित्रको निर्माणलाई निरन्तर सहयोग गर्दै विश्वभरका दर्शकमाझ पुर्‍याउन सहकार्य गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

वि.सं.२०८३ भदौ २० शनिवार १०:४८ मा प्रकाशित