ललितपुर । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै संस्थाले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गर्दै साधारणसभा सम्पन्न गरेको हो ।
चौथो साधारणसभाबाट सन् २०२६–२०२७ का लागि दीपेन चापागाईं अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, विभूषण बिष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्षमा निर्वाचित भएका छन् । बाँकी पाँच जना निर्वाचित बोर्ड सदस्यले कार्यसमिति सदस्यका रूपमा काम गर्नेछन् । नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ ।
यस्तै, नयाँ कार्यसमितिले नास आईटीका आफ्ना सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ । नेपालमा प्रविधि उद्योगको विकाससँगै नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्न संस्थाले काम गर्नेछ।
वि.सं.२०८३ भदौ २० शनिवार १०:०९ मा प्रकाशित



















