back
Close [x]
rudrakshaByavasayi Ad long banner

भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

वि.सं.२०८३ भदौ २० शनिवार

12 

shares

काठमाडौं  । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले अघि सारेको राहत तथा पुनरुत्थान प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ। सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय लाई नाडाले स्वागतयोग्य रहेको ठहर गरेको हो ।

नाडाले विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनका लागि वातावरण निर्माण गर्ने सरकारको निर्णय सकारात्मक र आवश्यक भएको जनाएको छ। विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका सवारी पुनः आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था अटोमोबाइल तथा ढुवानी व्यवसायीका लागि महत्वपूर्ण राहत भएको नाडाको भनाइ छ।

त्यस्तै, क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने व्यवस्थाले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्ने नाडाले जनाएको छ। क्षतिग्रस्त सवारी तथा उपकरण पुनः खरिदका लागि थप कर्जा उपलब्ध गराउने व्यवस्था पनि व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाको निष्कर्ष छ।

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताए । उनका अनुसार सरकारले घोषणा गरेको प्याकेजले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन आधार प्रदान गर्नेछ। नाडाले सरकारको निर्णयलाई शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, वास्तविक क्षतिको विस्तृत अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेज ल्याउनसमेत सरकारसँग आग्रह गरेको छ।

 

वि.सं.२०८३ भदौ २० शनिवार १०:०५ मा प्रकाशित