back
Close [x]
rudrakshaByavasayi Ad long banner

प्यानल प्रयोग गरेर संरचना बनाउने ट्रेन्ड बढ्दै, छिटो निर्माणले गर्दा उपभोक्ताको बन्यो रोजाइ

वि.सं.२०८३ असार २१ आइतवार

48 

shares

काठमाडौं । ईटा, ढुंगा र सिमेन्टमा आधारित निर्माण प्रणालीको विकल्पका रूपमा विकसित हुँदै गएको प्यानल प्रडक्टको प्रयोग गरेर घर बनाउनेका संख्या उल्लेखनीय बढ्दै गएको पाइएको छ । निर्माण अवधि छोटो, तुलनात्मक रूपमा लागत कम तथा प्यानल प्रयोग गरी आधुनिक डिजाइनमा घर निर्माण गर्न सकिने भएपछि यसप्रति सर्वसाधारणदेखि व्यवसायिक क्षेत्रसम्म आकर्षण बढ्दै गएको हो ।

केही वर्ष अघिसम्म सीमित कम्पनीले मात्रै यस्तो सेवा दिँदै आएकोमा अहिले आवासीयदेखि व्यावसायिक परियोजनासम्म लक्षित गर्दै नयाँ कम्पनी प्रवेश यस क्षेत्रमा तीव्र बनिरहेको छ । साथै, प्यानल प्रयोग गरेर हजारौं घर, व्यवसायीक संरचना बनिसकेको अवस्थामा यसप्रतिको लोकप्रियता मौलाउँदै गएको ठान्न सकिन्छ । आवासीय घर, कार्यालय, विद्यालय, होटल, रिसोर्ट तथा अस्थायी संरचना आदि निर्माण गर्न सकिने भएकाले यसको रोजाइ बढ्दो अवस्थामै रहेको एसवाई प्यानल नेपालका महानिर्देशक शशी साहले बताए ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि निर्माण क्षेत्रमा निकै उपयोगी सावित हुँदै आएको प्यानल प्रडक्ट यो चरणसम्म आइपुग्दा बजारमा ठूलो हिस्सा ओगट्न सफल भइसकेको साहले जानकारी दिए । छिटो निर्माण गर्न सकिने, तुलनात्मक रूपमा कम लागत पर्ने र आधुनिक प्रविधिमा आधारित घर निर्माण गर्न सकिने भएकाले पनि यो क्षेत्रले गति लिएको हो ।

प्यानल उत्पादन, आयात, डिजाइन तथा जडानसँग सम्बन्धित कम्पनीहरूको संख्या क्रमशः बढिरहेको अवस्था सरकारले देखिएका चुनौतीको सम्बोधन गर्नसक्ने, कच्चा पदार्थको आयातमा सहजीकरण लगायतका कार्य गर्नसके यो क्षेत्रको विस्तार आगामी वर्षहरू व्यापक हुनसक्ने साहको बुझाइ छ । उनका अनुसार प्रिफ्याब प्यानल उद्योग केवल निर्माण सामग्रीको व्यवसाय मात्र नभई औद्योगिकीकरण, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारसँग महत्वपूर्ण साझेदार बन्नसक्ने छ ।

‘पहिले सीमित क्षेत्र र अस्थायी संरचनामा प्रयोग हुने यस्ता सामग्री अहिले आवास, औद्योगिक संरचना, कृषि, कोल्ड स्टोर, गोदाम, व्यावसायिक भवन र विपद्पछिको पुनर्निर्माणसम्म पुगिसकेको छ, उपभोक्ताले पनि प्यानलको उपयोगिता बुझ्दै गएपछि घरमा तला थप्ने, औद्योगिक भवन तथा व्यावसायिक संरचना निर्माणमा यसको प्रयोग बढेको छ’ उनले भने । सांरचना निर्माणलाई मात्र केन्द्रमा नराखी यसलाई उत्पादन, सेवा, रोजगारी र लगानीसँग जोडेर हेर्ने हो भने प्यानल उद्योगले नयाँ औद्योगिक चक्र निर्माण गर्नसक्ने पनि साह बताउँछन् ।

‘प्यानल बजारमा विभिन्न किसिमका उपलब्ध छन्, जसले उपभोक्तालाई छनोटको विकल्प पनि उपलब्ध गराउनुका साथै बजेट अनुसारको संरचना निर्माण पनि नयाँ आयाम थपि रहेको छ, हाम्रो कम्पनीले प्यानलकै नयाँ प्रडक्ट उत्पादनको तयारीमा गरिराख्दा आगामी दिनमा यसका नयाँ ढाँचा सहितका विकल्प आउँने छन्,’ उनले भने । साहका अनुसार प्यानलका नेपालमा अनगिन्ती संरचना बनी सकेका छन् ।

बजार मागसँगै प्रतिस्पर्धा पनि बढ्दै
करिब एक दशकअघि नेपाली बजारमा प्रिफ्याब प्यानलको अवधारणा नयाँ थियो । उपभोक्तालाई यसको प्रयोग, टिकाउपन, लागत र भविष्यका सम्भावनाबारे छुट्टै बुझाउनुपर्ने अवस्था थियो । तर, अहिले बजारमा प्यानल प्रविधिप्रति उपभोक्ताको सचेतना उल्लेख्य गढ्दै गएको र नेपालमै यस्तो उत्पादन हुने तथ्यले पनि उपभोक्तामा विश्वास बढाएको नेपालाई इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णभक्त दुवाल बताउँछन् ।

उनका अनुसार यसको माग बढ्दै गएका कारणले नै आजसम्म आइपुग्दा यो क्षेत्रमा प्रतिस्पर्धी वातावरण सिर्जना भइसकेको छ । ‘संरचना छिटो बन्ने, सहज ढुवानी र कम लागत भएकै कारणले गर्दा प्यानल प्रयोग गरेर आफ्नो संरचना बनाउन धेरै मान्छे इच्छुक छन्, पछिल्लो समय उपत्यका बाहिर पनि यसको प्रयोग विस्तार भइरहेको छ, विशेषगरी साना संरचना, पार्टी प्यालेस, व्यावसायिक विस्तार तथा घरको कौसी थप्ने काममा प्यानल लोकप्रिय मानिन थालेका छ,’ उनले कर्पोरेट नेपालसँग भने ।

प्यानल नेपालको निर्माण संस्कृतिको महत्वपूर्ण हिस्सा बन्दै गर्दा घर बनाउने तरिकामा मात्र होइन, निर्माणलाई उद्योगका रूपमा पुनर्परिभाषित गर्ने दिशामा पनि अघि बढेको बताउँदै दुवालले प्यानल प्रविधि बिस्तारै स्थापित हुँदै गएको पनि बताए । यस्तै, प्रिफ्याब प्यानल नेपाल प्रा.लिका सीईओ बिमलराज गोसाईंले विदेशबाट फर्किएका नेपाली तथा साना–मझौला लगानीकर्ताले यस्तो प्रविधिप्रति बढी रुचि देखाउन थालेका छन् ।

‘घर धेरैको सपना हो, सबैले पक्का घर बनाउन सक्छन् भन्ने छैन, आफ्नो बजेट अनुकूलको घर प्यानल प्रयोग बनाउन सकिने हुँदा यसप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो, साथै विदेशबाट फर्किएका नेपालीको नागरिकको नजरमा चाहिँ यस्ता किसिमको घर धेरै परेको पाएको छु,’ उनले भने । २० देखि २५ लाख रुपियाँमा प्रिफ्याब प्यानल प्रयोग गरेर आकर्षक घर बनाउन सकिने गोसाईंले जानकारी दिए ।

संरचनाको आकार अनुसार पनि खर्चको निर्धाण हुने बताइएको छ । साथै, स्थानीय उत्पादन, प्राविधिक क्षमता र नियमन बलियो बनाइयो भने नेपालमा प्यानल उद्योगले आगामी वर्षहरूमा छुट्टै औद्योगिक बजार निर्माण गर्ने सम्भावना रहेको पनि गोसाईं बताउँछन् ।

अर्थतन्त्रमा पनि महत्वपूर्ण योग्दान
नेपालमा प्यानल प्रविधिमार्फत घर तथा संरचना निर्माण गर्ने अभ्यास विस्तार हुँदै जाँदा यस क्षेत्रले केवल निर्माण उद्योगलाई मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योग्दान दिन सक्ने औँल्याउन सकिन्छ । हाल नेपालमा करिब चारवटा प्यानल म्यानुफ्याक्चरिङ उद्योग सञ्चालनमा आइसकेका छन् । यसले निर्माण क्षेत्रमा नयाँ औद्योगिक आधार सिर्जना गर्नुका साथै आयात प्रतिस्थापनतर्फ पनि महत्त्वपूर्ण योगदान दिन थालेको सीईओ दुवालले बताए । उनका अनुसार अहिले नेपालमै उत्पादन हुने प्यानललेविदेशबाट आयात हुने उत्पादनसरह गुणस्तर कायम गर्नसक्ने अवस्था बनिसकेको छ ।

नेपाली उत्पादकहरू मूल्यका हिसाबले पनि प्रतिस्पर्धी बन्दै गएको छ । यसले निर्माण कम्पनी र उपभोक्तालाई तुलनात्मक रूपमा विकल्प उपलब्ध गराएको दुवालले बताए । प्यानल उद्योगको विस्तारसँगै रोजगारी सिर्जना, औद्योगिक उत्पादन वृद्धि र निर्माण क्षेत्रको आधुनिकीकरणसमेत थपिरहेको उनको भनाई छ । आगामी वर्षहरूमा नीति समर्थन, प्रविधि विकास र गुणस्तर मापदण्डलाई अझ बलियो बनाउन सके नेपाल प्यानल उत्पादनमा आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको दुवाल औंल्याउँछन् ।

‘नेपालमै प्यानल उत्पादन नभएको भए वार्षिक रूपमा ठूलो रकम आयातमार्फत बाहिरिने अवस्था थियो, अहिले भने स्वदेशमै उत्पादन बढेसँगै वार्षिक एक अर्ब रुपियाँको हाराहारीमा विदेशी मुद्रा बाहिर जान रोकिएको छ,’ उनले भने । साथै, प्यानल निर्माणको सम्भावना विशेष गरी पर्यटन र दुर्गम क्षेत्रसँग जोडिएको अब हेर्ने बेला आएको दुवालले बताए ।

‘नेपालका विभिन्न क्षेत्रमा पर्यटन मार्ग र गन्तव्य विकास भइरहेका बेला त्यहाँ आवश्यक पूर्वाधार निर्माण चुनौतीपूर्ण विषय बनेको छ, त्यहाँ आवास, होटल, रेस्टुरेन्ट तथा सेवा संरचना पनि आवश्यक पर्छन्, यस्तो अवस्थामा प्यानल प्रविधि प्रभावकारी विकल्पका रूपमा हरेर संरचना निर्माण गर्दा उपयुक्त हुन्छ,’ उनले भने । निर्माण क्षेत्रको बदलिँदो स्वरूपसँगै प्यानल उद्योग नेपालमा औद्योगिक विस्तार र आर्थिक रूपान्तरणको साझेदारको रूपमा हेर्न आवश्यक रहेको दुवालले बताए ।

यस्तै, महानिर्देशक साहले देशभित्र उद्योग विस्तार र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने सरकारी घोषणा भइरहे पनि व्यवहारमा उद्योगका चुनौती र आवश्यकतामाथि पर्याप्त अध्ययन र नीतिगत जटिलता विषयमा सहजीकरण हुन नसकेको गुनासो गरे । विद्यमान उद्योगले भोगिरहेका समस्या, लागत, कर प्रणाली, भन्सार संरचना तथा उत्पादन प्रतिस्पर्धासम्बन्धी विषयमा विस्तृत विश्लेषण आवश्यक रहेको साहको धारणा छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने नीतिगत आधार बलियो नबन्दा स्थानीय उद्योगले अपेक्षित गति लिन नसकेको उनको बुझाइ छ । नेपालमा पूर्वाधार विकासको आवश्यकता अझै विशाल भएकाले सडक, जलविद्युत आयोजना, औद्योगिक करिडोर, गोदाम, क्याम्प र सेवा संरचनाहरू निर्माण हुन बाँकी छन् । यस्ता परियोजनामा छिटो निर्माण र स्थानान्तरणको सुविधा भएका कारण प्रिफ्याब संरचना प्रभावकारी विकल्प बन्नसक्ने साहले जानकारी दिए ।

वि.सं.२०८३ असार २१ आइतवार २०:३६ मा प्रकाशित