काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उच्च परिमाणमा धितोपत्र कारोबार गर्ने ब्रोकर तथा ठूला लगानीकर्तामाथि अनुसन्धान अघि बढाउने तयारी गरेका छन्। यसका लागि दुवै निकायले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग सम्बन्धित ब्रोकर र लगानीकर्ताको विस्तृत विवरण माग गरेका छन्।
सेबोन स्रोतका अनुसार दैनिक करिब ३० करोड रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर) तथा उनीहरूमार्फत कारोबार गर्ने ठूला लगानीकर्ताको विवरण संकलन भइरहेको छ। अनुसन्धानका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन बोर्डले आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार अनुसन्धान निकायले ब्रोकर कम्पनीहरूको कारोबारको परिमाण, ग्राहकको विवरण, कारोबारको प्रकृति तथा उच्च मूल्यका कारोबारसँग सम्बन्धित अन्य जानकारी माग गरेका छन्। यसलाई सम्पत्ति शुद्धीकरण तथा शंकास्पद वित्तीय कारोबारको निगरानीसँग जोडेर हेरिएको छ।
नेपाल हाल पनि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को खैरो सूचीमा रहेकाले सम्पत्ति शुद्धीकरण नियन्त्रण र वित्तीय अनुशासन कार्यान्वयनमा प्रभावकारी प्रगति देखाउन सरकारमाथि अन्तर्राष्ट्रिय दबाब रहेको छ। यही सन्दर्भमा उच्च मूल्यका सेयर कारोबारको निगरानी र अनुसन्धानलाई तीव्र बनाइएको सरकारी अधिकारीहरूको बुझाइ छ।
यद्यपि बजारसँग सम्बन्धित जानकारहरूले यस्तो अनुसन्धानलाई कानुनी दायराभित्र र प्रमाणका आधारमा अघि बढाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार सम्पूर्ण ब्रोकर वा ठूला लगानीकर्तालाई एउटै दृष्टिकोणबाट हेर्ने सन्देश गएमा लगानीकर्ताको मनोबल कमजोर हुन सक्छ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार र लगानीकर्ताको उत्साह अपेक्षाकृत कमजोर रहेको अवस्थामा अनुसन्धानको खबरले बजारमा थप मनोवैज्ञानिक प्रभाव पार्न सक्ने विश्लेषकहरूको धारणा छ। उनीहरूका अनुसार गैरकानुनी गतिविधि नियन्त्रण आवश्यक भए पनि नियामक र अनुसन्धान निकायले बजारको विश्वास कायम रहने गरी पारदर्शी र सन्तुलित ढंगले प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको छ।
वि.सं.२०८३ असार १२ शुक्रवार १३:५३ मा प्रकाशित














