back
Close [x]
rudrakshaByavasayi Ad long banner

‘कक्षा-१२ को नतिजा प्रकाशनमा हतार गरेका छैनौं, प्रशासनिक प्रक्रिया छोट्याई समयमै निकाल्यौं’

वि.सं.२०८३ असार ११ बिहीवार

21 

shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको बताएका छन् । कक्षा १२ को नतिजामा विद्यार्थीहरू असन्तुष्ट हुँदै सडकमा नतिजा छिटो निकाल्ने नाममा गडबढ गरेको भन्दै आन्दोलित भए पश्चात् पोखरेलले फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्– ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौं । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो ।’

यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति पोखरेलले समेत सम्मान व्यक्त गरेका छन् । लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ भन्दै पोखरेलले  यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले आफ्नो ध्यानाकर्षण भएको समेत जानकारी दिएका छन् ।

साथै, उनले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न समेत सबैमा अनुरोध गरेका छन् । पोखरेलका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको छ ।

वि.सं.२०८३ असार ११ बिहीवार १८:५६ मा प्रकाशित