काठमाडौँ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जारीकर्ता साख मूल्याङ्कन पुनः पुष्टि गर्दै ‘केयर–एनपी ए माइनस (जारीकर्ता)’ कायम राखेको छ। यस मूल्याङ्कनअनुसार कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमतासहित न्यून क्रेडिट जोखिम भएको संस्थाका रूपमा स्थान कायम राखेको छ। संस्थाले कम्पनीको समग्र वित्तीय अवस्था सन्तोषजनक रहेको निष्कर्षसमेत निकालेको छ।
कम्पनीको लेखापरीक्षित वित्तीय विवरणअनुसार नाफा क्षमतामा निरन्तर सुधार देखिएको छ। बीमा दाबी अनुपात, कमिसन अनुपात र सञ्चालन खर्च अनुपात नियन्त्रणमा रहँदा समग्र नाफा मजबुत बनेको प्रतिवेदनमा उल्लेख छ। बीमा शुल्क संकलन पनि निरन्तर वृद्धि भइरहेको छ भने खर्च व्यवस्थापनलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको कम्पनीले जनाएको छ। लगानीबाट प्राप्त आम्दानी स्थिर रूपमा बढ्दै गएको पनि देखिएको छ।
कम्पनीको व्यवस्थापन तथा सञ्चालक टोली अनुभवी रहेको, लगानी पोर्टफोलियोको गुणस्तर सन्तोषजनक रहेको तथा पुनर्बीमा व्यवस्था पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ। शाखा सञ्जाल देशव्यापी रूपमा विस्तार भएकाले बजार विस्तार र ग्राहक पहुँच बढाउन सहयोग पुगेको बताइएको छ। हाल कम्पनीसँग ९ वटा शाखा र ८५ वटा उपशाखा रहेका छन् भने करिब ३३ हजार ३ सय ९० बीमा अभिकर्ता सक्रिय छन्।
पुनर्बीमा व्यवस्थाअन्तर्गत कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्ससँग सम्झौता गरेको छ। नियामकीय व्यवस्था अनुसार ४ प्रतिशत जोखिम प्रत्यक्ष रूपमा घरेलु पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्ने गरिएको छ भने बाँकी जोखिम संरचनाअनुसार ८५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनी र १५ प्रतिशत हिमालयन रिइन्स्योरेन्समा बाँडफाँड गरिएको छ। यसले जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाएको प्रतिवेदनले जनाएको छ।
कम्पनीको कुल लगानी पोर्टफोलियो १२.०४ प्रतिशतले वृद्धि भएको छ भने ७२.३० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित छ। कुल सम्पत्ति आधार २०२६ अप्रिल १३ सम्म २४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ पुगेको छ।
वि.सं.२०८३ असार २ मंगलवार १३:०६ मा प्रकाशित



















