काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन्। उनले ३५८ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनकसिंह धामीलाई पराजित गरेका हुन्। धामीले १५४ मत प्राप्त गरेका थिए।
कुल खसेको मतमध्ये ५१ प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणमै निर्वाचित भएका हुन्। उनी यसअघि पनि सोही समितिको सभापति रहेका थिए।
पराजित धामी कञ्चनपुर–१ बाट प्रतिनिधि सभा सदस्य हुन्।
सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयनका लागि मतदान भएको थियो। सभापति पद पहिलो चरणमै टुंगिएपछि अब उपसभापति, महामन्त्री र दुई सहमहामन्त्री पदका लागि निर्वाचन हुने भएको छ। साथै कार्यसमिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ।
वि.सं.२०८३ असार २ मंगलवार १३:०० मा प्रकाशित













