काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई जलविद्युत कम्पनीमा कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समितिको बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी गर्ने नीतिअनुसार जलविद्युत क्षेत्रमा लगानी गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स लिमिटेडमा प्रतिशेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक शेयर खरिद गर्ने भएको छ।
यसका लागि कम्पनीले २५ करोड रुपैयाँ लगानी गर्नेछ । त्यस्तै, भिजन इनर्जी पावर प्रा.लि.ले प्रवद्र्धन गरेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन इन्दुवा खोला PROR Hydropower Project मा पनि हाथवेले लगानी गर्ने निर्णय गरेको छ।
उक्त आयोजनामा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक शेयर खरिद गरी १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको पत्रमा उल्लेख छ। यससँगै हाथवे इन्भेष्टमेन्टले जलविद्युत क्षेत्रमा कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीले आफ्नो लगानीलाई विविधीकरण गर्दै दीर्घकालीन प्रतिफलका लागि जलविद्युत क्षेत्रमा लगानी विस्तार गरेको जनाएको छ। उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र सम्बन्धित कम्पनीलाई जानकारी गराइएको पत्रमा उल्लेख छ।
नेपालमा जलविद्युत क्षेत्रमा निजी लगानी विस्तार भइरहेका बेला संस्थागत लगानीकर्ताको यस्तो लगानीले निर्माणाधीन आयोजनाहरूमा वित्तीय स्रोत परिचालनमा थप सहयोग पुग्ने देखिन्छ।

वि.सं.२०८३ भदौ २५ बिहीवार २०:३९ मा प्रकाशित



















