काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
गत भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नाडाले उक्त रकम प्रदान गरेको जनाएको छ।
नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत वितरणको कामसमेत गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित क्षेत्रका नागरिकको तत्कालीन आवश्यकता पहिचान गर्दै खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिरहेको छ।
विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नगद सहयोगका साथै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिएको जनाएको छ। प्रभावित नागरिकको पीडामा साथ दिँदै आवश्यक सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको नाडाको भनाइ छ।
चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल र सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति थियो ।
वि.सं.२०८३ भदौ २० शनिवार १०:३१ मा प्रकाशित
















