काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गरी बिक्रीमा राखिएका ३३६ वटा प्लास्टिकजन्य माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ। महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले प्लास्टिकजन्य फूल, माला तथा पुष्पगुच्छाको बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै सार्वजनिक सूचना जारी गरे पनि त्यसको अवज्ञा गर्दै बिक्री गर्ने व्यापारीबाट उक्त सामग्री जफत गरिएको हो।
महानगर प्रहरी बलका अनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायत स्थानबाट प्लास्टिकजन्य सामग्री जफत गरिएको छ । जफत गरिएका सामग्रीमध्ये सबैभन्दा धेरै कोटेश्वर र कोटेश्वर पानीपुरी चोकमा बिक्रीका लागि राखिएका थिए । महानगर प्रहरी बलले नगर प्रहरीको सेवालाई नागरिकको नजिक पुर्याउने उद्देश्यले महानगरको भूगोललाई पूर्व, पश्चिम, उत्तर र मध्य गरी चार क्षेत्रमा विभाजन गरेको छ।
ती क्षेत्रमा खटिएका क्षेत्रगत कमाण्डर तथा प्रहरी टोलीले बजारको नियमित निगरानी र अनुगमन गर्ने क्रममा अनधिकृत रूपमा बिक्रीमा राखिएका फूल तथा माला जफत गरेका हुन्। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्रीमा रोक लगाए पनि स्वदेशी फूलको बिक्रीलाई भने प्रोत्साहन गरिरहेको छ। यसका लागि महानगरले आफ्नो क्षेत्रभित्रका ३३ वटा स्थानमा नेपाली किसानले उत्पादन गरेका फूल बिक्री गर्न पाउने व्यवस्था मिलाएको छ।
वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० बमोजिम नेपालभर प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको उल्लेख छ। काठमाडौं महानगरपालिकाले पनि विगतका वर्षदेखि नै यस्ता सामग्रीको कारोबार निषेध गर्दै आएको जनाएको छ।
प्रतिबन्धित सामग्री बिक्री, भण्डारण वा सजावटमा प्रयोग गरेको पाइएमा जफत गर्नुका साथै काठमाडौं महानगरपालिका, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ। महानगरपालिकाले स्वदेशी फूलको बजार प्रवर्द्धन र नेपाली किसानलाई प्रत्यक्ष बजार पहुँच उपलब्ध गराउने उद्देश्यले २०८० सालदेखि तिहारमा निश्चित स्थान तोकेर फूल बिक्रीको व्यवस्था गर्दै आएको हो। सुरुमा भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजुको भ्याली कोल्ड स्टोर परिसरमा बिक्रीको व्यवस्था गरिएको थियाे ।
तिहारका बेला घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको माग बढ्ने गरेको छ। तर नेपाली बजारमा भारतलगायत विभिन्न देशबाट फूल तथा पुष्पजन्य सामग्री आयात हुने क्रम पनि उल्लेख्य छ। भारत, नेदरल्याण्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्याण्ड, भियतनामलगायत देशबाट विभिन्न प्रजातिका फूल, बिरुवा, बीउबिजन तथा पुष्पजन्य सामग्री नेपाल भित्रिने गरेका छन् ।
वि.सं.२०८३ कात्तिक २१ शनिवार २०:४२ मा प्रकाशित














