back
Close [x]
rudrakshaByavasayi Ad long banner

बाढीले हराएपछि भेटिने आशमा अस्पतालका भित्ताभरि टाँसिए बेपत्ताका अनुहार

वि.सं.२०८३ भदौ २९ सोमवार

21 

shares

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आफन्तबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीमा परिवारजनले अस्पतालदेखि सार्वजनिक स्थानसम्म बेपत्ताका तस्बिर र विवरणसहितका पोस्टर टाँस्न थालेका छन् । बाढीपछि हराइरहेका आफ्ना परिवारका सदस्यको अवस्था पत्ता लगाउन आफन्तहरूले अस्पताल भित्ताका बेपत्ताका अनुहार टाँस्न थालेका हुन् ।

बाढीको तीव्र बहावले बस्ती, सडक तथा बजार क्षेत्रमा ठूलो क्षति पुर्याएपछि धेरै व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको कुनै जानकारी नपाएपछि परिवारजनले तस्बिरसहितका पोस्टर तयार गरेर कतै उद्धार भएर अस्पतालमा आइपुगेकी भन्ने आश लिएर अस्पतालको भित्तामा तस्बिर टाँस्न थाले पाइएको छ ।

अस्पतालका भित्तामा टाँसिएका पोस्टरमा बेपत्ता व्यक्तिको नाम, उमेर, ठेगाना, हुलिया र सम्पर्क नम्बर उल्लेख गरिएको छ । कतिपय पोस्टरमा पछिल्लो पटक देखिएको स्थान र लगाएको कपडाको विवरणसमेत राखिएको छ । अस्पताल पुग्ने आफन्तहरू घाइते तथा मृतकको विवरण हेर्दै आफ्ना मान्छेको पहिचान खोजिरहेका छन् ।

बाढीपछि उद्धार गरिएका घाइते र शवहरू विभिन्न स्वास्थ्य संस्थामा ल्याइएकाले परिवारका सदस्यहरू अस्पतालमा पुगेर विवरण मिलाउने गरेका छन् । कतिपय परिवारले सामाजिक सञ्जालमार्फत पनि बेपत्ताको खोजीका लागि अपिल गरिरहेका छन् । आफन्तको अवस्था थाहा नहुँदा परिवारमा अन्योल र पीडा बढ्दै गएको छ ।

कोही आफ्नो परिवारको सदस्य सकुशल भेटिने आशामा अस्पताल र उद्धार स्थल चहारिरहेका छन् भने कोही आफन्तको कुनै खबर आउने प्रतीक्षामा छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि भौगोलिक कठिनाइ, क्षतिग्रस्त सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण बेपत्ताको यकिन विवरण संकलन गर्न चुनौती देखिएको छ ।

अस्पतालका भित्तामा एकपछि अर्को टाँसिँदै गएका ती पोस्टर अहिले भोटेकोशी बाढीले निम्त्याएको मानवीय क्षतिको दर्दनाक दृश्य बनेका छन् । ती पोस्टरमा रहेका अनुहार हेर्दै आफन्तहरू आफ्नो मान्छे फर्किने आशा बोकेर दिनरात खोजीमा छन् ।

 

वि.सं.२०८३ भदौ २९ सोमवार १७:१४ मा प्रकाशित