back
Close [x]
rudrakshaByavasayi Ad long banner

एसियाडका खेलाडीलाई पहिलोपटक विमानस्थलमै भीआईपी सुविधा

वि.सं.२०८३ भदौ २० शनिवार

12 

shares

काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ। टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।

मन्त्री पोखरेलको पहलमा एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीले पहिलोपटक विमानस्थलको ‘भीआईपी’ कक्ष प्रयोग गर्ने सुविधा पाएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीप्रति सम्मान र प्रोत्साहनस्वरूप उक्त व्यवस्था गरिएको मन्त्री पोखरेलले बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा भीआईपी पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीले आफ्नो क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो। नेपाली कराते टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ। प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ मा टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ। कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ।

नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङ सहभागी हुनेछन् ।

टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बूले प्रतिस्पर्धा गर्नेछन्। टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । टोलीलाई बिदाइ गर्न राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, मन्त्रालयका सल्लाहकार तथा नेपाल कराते महासंघका पदाधिकारीलगायत उपस्थित थिए।

वि.सं.२०८३ भदौ २० शनिवार ११:०२ मा प्रकाशित