काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित १८औँ नाडा अटो शो-२०२६ यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ५० वर्षे यात्राको अवसरमा आयोजना हुन लागेको यसपटकको प्रदर्शनीलाई अटोमोबाइलसँगै समग्र मोबिलिटी क्षेत्रको बृहत् मञ्चका रूपमा प्रस्तुत गर्ने तयारी बताइएको छ ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन् । नाडाका अनुसार २३ वटा प्यासेन्जर कार ब्रान्ड, १७ वटा लाइट कमर्सियल भेहिकल ९एलसीभी० ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको सहभागिता रहनेछ। त्यसैगरी, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीले प्रदर्शनीमा सहभागिता जनाउनेछन्।
बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी गरी थप १० संस्थाको सहभागिताले अटो शोमा सवारीसाधनदेखि वित्तीय तथा सहायक सेवासम्मको समग्र इकोसिस्टम देखिनेछ। नेपालमा सवारीसाधनको बजार पछिल्लो पाँच दशकमा उल्लेख्य रूपमा विस्तार भएको छ। हालसम्म देशभर करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् । नाडाका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ।
यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको तथ्यांक छ। यसले अटोमोबाइल क्षेत्र केवल सवारीसाधन बिक्री गर्ने व्यवसायमा सीमित नभई राज्यको राजस्व, रोजगारी र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिने क्षेत्रका रूपमा स्थापित भएको देखाउने नाडाले बताएको छ ।
नेपालको अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधनको हिस्सा पनि बढ्दै गएको छ। हालसम्म नेपालमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेको नाडाको तथ्यांक छ।
विद्युतीय सवारीको प्रयोग विस्तारसँगै चार्जिङ पूर्वाधार पनि बढाइएको छ। हाल देशभर करिब २ हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन् । नाडा अटो शो २०२६ मा पनि विद्युतीय सवारी, नयाँ प्रविधि, चार्जिङ प्रणाली तथा हरित गतिशीलतासँग सम्बन्धित उत्पादनलाई विशेष प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले ५० वर्षको यात्रा संस्थाको मात्र नभई समग्र नेपाली अटोमोबाइल उद्योगको योगदानको समीक्षा गर्ने अवसर भएको बताएका छन् । उनका अनुसार पछिल्ला पाँच दशकमा अटोमोबाइल क्षेत्रले व्यापार विस्तारसँगै रोजगारी सिर्जना, राजस्व योगदान, प्रविधि विस्तार र हरित गतिशीलताको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।
यसपटकको नाडा अटो शोमा नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै नेपाली अटोमोबाइल उद्योगले हासिल गरेको विस्तार र आगामी दिनको मोबिलिटीको सम्भावनासमेत नाडा अटो शोमा देखाइने बताइएको छ ।
वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३९ मा प्रकाशित














