back
Close [x]
rudrakshaByavasayi Ad long banner

मोबिलिटीलाई विलासिता होइन, राष्ट्रिय विकासको आवश्यकता मान्नुपर्छ : नाइमा अध्यक्ष वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार

12 

shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको मोबिलिटी क्षेत्रलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र सबैको पहुँचयोग्य बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष वैद्यले अटोमोबाइल उद्योगलाई केवल व्यापार र सवारीसाधन बिक्रीका रूपमा नभई नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडेर हेर्नुपर्ने बताएकी हुन् ।

नाइमा नीति पैरवीमा मात्र सीमित नभई क्षमता विकास, व्यावसायिक तालिम, सडक सुरक्षा, जनचेतना, अनुसन्धान तथा विकास, प्राविधिक ज्ञान आदानप्रदान र आवश्यक अवस्थामा आपत्कालीन सहयोगमा समेत सक्रिय रहेको उनको भनाइ छ ।

उनले नेपाल स्वच्छ तथा दिगो मोबिलिटीतर्फ अघि बढिरहेको भन्दै विद्युतीय सवारीको प्रयोगलाई थप व्यवस्थित र दिगो बनाउन आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीतिको आवश्यकता रहेको उल्लेख गरिन् ।

विद्युतीय सवारीसँगै हाइब्रिड इलेक्ट्रिक, प्लग–इन हाइब्रिड, एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकललगायत नयाँ प्रविधि पनि तीव्र गतिमा भित्रिरहेको भन्दै उनले सरकारका विभिन्न निकायमा यस्ता प्रविधिबारे प्राविधिक बुझाइ बढाउनुपर्ने उनले जोड दिइन् ।

‘नयाँ–नयाँ पावरट्रेन प्रविधि आइरहेका छन्, त्यसअनुसार वर्गीकरण, कर प्रणाली, परीक्षण र नियमन स्पष्ट तथा समान हुन आवश्यक छ, त्यसैले कस्टम तथा सम्बन्धित सरकारी निकायलाई आवश्यक प्राविधिक ज्ञान र विशेषज्ञ सहयोग उपलब्ध गराउन नाइमा तयार छ,’ उनले भनिन् ।

वैद्यले नाइमाको मूल उद्देश्य नै ‘मोबिलिटी फर अल’ रहेको उल्लेख गर्दै मोबिलिटीलाई केवल सवारीसाधनका रूपमा बुझ्न नहुने बताए । मोबिलिटीले अत्यावश्यक सेवासँग जोड्ने भएकाले यसलाई विलासिताको वस्तु वा सरकारको राजस्वको स्रोतका रूपमा मात्र हेर्न नहुने बताइन् ।

यस्तै, अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रका लागि स्थिर, पूर्वानुमानयोग्य र परामर्शमा आधारित नीति आवश्यक रहेकोमा विशेष जोड दिइन् । बारम्बार हुने नीतिगत परिवर्तन, नीतिको फरक–फरक व्याख्या र पूर्वप्रभावी निर्णयले उद्योगमा अनिश्चितता सिर्जना गर्ने भन्दै उनले नीति परिवर्तन गर्नुअघि सम्बन्धित उद्योग तथा सरोकारवालासँग छलफल गर्न सरकारलाई आग्रह गरिन् ।

‘व्यवसायले स्पष्ट र स्थिर नीतिअनुसार आफूलाई अनुकूल बनाउन सक्छ, तर बारम्बार हुने परिवर्तन, असंगत व्याख्या र पूर्वप्रभावी निर्णयले लगानीको वातावरणमा अनिश्चितता ल्याउँछ,’ उनले भनिन् ।

साथै,  अध्यक्ष वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई केवल सवारीसाधन प्रदर्शन र बिक्री गर्ने कार्यक्रमका रूपमा नहेर्न आग्रह गरिन् ।  एक्स्पोले नेपालको समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै प्लेटफर्ममा ल्याएको उनको भनाइ छ ।

छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ ब्रान्ड र ४० नयाँ मोडल(उत्पादन सार्वजनिक  हुने जानकारी दिँदै उनले नयाँ सवारीसाधन, विद्युतीय तथा अन्य उदीयमान प्रविधि, मोबिलिटी समाधान तथा सेवाबारे उपभोक्ताले प्रत्यक्ष जानकारी लिन सक्ने बताइन् ।  एक्स्पोसँगै आयोजना हुने मोबिलिटी संवाद कार्यक्रममा नीति निर्माता, विज्ञ, उद्योगी, शिक्षाविद् र युवाहरूलाई सहभागी गराएर नेपालको मोबिलिटी भविष्यका विषयमा छलफल गरिने उनले जानकारी दिइन् ।

‘हामी एक्स्पोबाट ठूलो मात्रामा व्यवसायिक गतिविधि मात्र होइन, ज्ञान, संवाद र नयाँ विचार पनि सिर्जना गर्न चाहन्छौं, सरकार र उद्योगबीच संवाद होस्, उपभोक्ताले नयाँ प्रविधि बुझून् र युवाहरूले मोबिलिटीको फराकिलो सम्भावनामा सहभागी हुने अवसर पाउन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन्  ।

उनले नेपालको मोबिलिटी क्षेत्रको भविष्य कुनै एउटा संस्था वा क्षेत्रले मात्र निर्माण गर्न नसक्ने भन्दै सरकार, उद्योग, उपभोक्ता, विज्ञ, शिक्षाविद् र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन् ।  यसै क्रममा उनले नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मेला तथा प्रदर्शनी आयोजना गर्न व्यवस्थित र अत्याधुनिक प्रदर्शनी तथा सम्मेलन केन्द्र निर्माण गर्न सरकारसँग उनको आग्रह छ ।

वि.सं.२०८३ साउन २६ मंगलवार २३:०३ मा प्रकाशित