काठमाडौं । चिनियाँ विद्युतीय सवारी ब्रान्ड लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी बी०३ एक्स नेपाली बजारमा सार्वजनिक गरेको छ। लिपमोटरको नेपालका लागि आधिकारिक वितरक शाङ्ग्रिला मोटर्सले नयाँ बी०३ एक्स सार्वजनिक गर्दै नेपाली विद्युतीय एसयूभी बजारमा आफ्नो उपस्थितिलाई थप मजबुद बनाएको हो ।
शहरी आवागमनदेखि लामो दूरीको यात्रासम्मलाई लक्षित गरिएको बी०३ एक्सलाई आधुनिक डिजाइन, उच्च पावर, लामो रेन्ज र प्रविधिमैत्री फिचरको संयोजनका रूपमा बजारमा ल्याइएको छ। बी०३ एक्स को प्रमुख आकर्षण यसको पावरट्रेन हो । नेपालमा आएको बी०३ एक्समा १४५ किलोवाटको इलेक्ट्रिक मोटर र ५३ किलोवाट–आवरको ब्याट्री दिइएको छ।
कम्पनीका अनुसार यसले एकपटक चार्जमा ५०५ किलोमिटरसम्मको यो गाडी कुद्न सक्छ। ब्याट्रीसँग जोडिएको यो पावरट्रेनले गाडीलाई दैनिक सहरिया प्रयोगसँगै लामो दूरीको यात्राका लागि पनि सक्षम बनाउने अपेक्षा गरिएको छ। उच्च क्षमताको डीसी फास्ट चार्जिङ सपोर्टले ब्याट्रीलाई करिब २० देखि ८० प्रतिशतसम्म १५–१७ मिनेटमा चार्ज गर्नसक्ने दाबी गरिएको छ।
बी०३ एक्सको इन्टेरियरमा प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ। गाडीमा १४।६ इन्चको २।५के हाई–डेफिनेसन सेन्ट्रल टचस्क्रिन राखिएको छ। यसले इन्फोटेनमेन्ट तथा विभिन्न सवारी फङ्सनलाई एउटै स्क्रिनमार्फत नियन्त्रण गर्न सहज बनाउँछ।
गाडीको केबिनलाई फराकिलो र व्यावहारिक बनाइएको छ। पछाडिको भागमा ५१० लिटरको बुट स्पेस उपलब्ध रहेको छ, जसले पारिवारिक प्रयोग तथा लामो यात्राका क्रममा सामान राख्न पर्याप्त ठाउँ उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
बी०३ एक्सको डिजाइन कम्प्याक्ट एसयूभी शैलीमा आधारित छ। अगाडिको आधुनिक एलईडी लाइट डिजाइन, १८ इन्च एलोय ह्विल र एरोडाइनामिक बडी डिजाइनले गाडीलाई आकर्षक रूप दिएको छ। भित्री भागमा पनि मिनिमलिस्ट डिजाइन र प्रिमियम फिनिसमा जोड दिइएको छ। मूल्य समेत उचित हुँदा यो गाडी आम उपभोक्ताको रोजाइमा पर्ने अपेक्षा कम्पनीको छ ।
बिक्रेता कम्पनीले यो गाडीको आधिकारिक मूल्य ४६ लाख ९९ हजार रुपियाँ तोकेको छ । तर, पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपियाँमै उपलब्ध गराउने कम्पनीले सार्वजनिक गर्ने क्रममा घोषणा गरेको छ ।
वि.सं.२०८३ साउन २३ शनिवार १२:४४ मा प्रकाशित



















