काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६२ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। यस वर्ष कम्पनीहरूले करिब १९ अर्ब ४५ करोड रुपैयाँ थप बीमा शुल्क संकलन गर्दै व्यवसाय विस्तार गर्न सफल भएका छन्।
कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा कायम रहँदा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। व्यवसाय वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ भने सिटिजन लाइफ पनि उच्च वृद्धिदर हासिल गर्ने कम्पनीमध्ये एक बनेको छ।
तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको तुलनामा १२.५३ प्रतिशत व्यवसाय वृद्धि गर्दै ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। नेशनल लाइफ इन्स्योरेन्सले १७.४९ प्रतिशत वृद्धि गर्दै २२ अर्ब २१ करोड रुपैयाँ र एलआईसी नेपालले ७.२० प्रतिशत वृद्धि गर्दै १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय ३.७६ प्रतिशत बढेर १५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले १७.९३ प्रतिशत वृद्धि गर्दै १० अर्ब ६२ करोड रुपैयाँ र सूर्यज्योति लाइफले ११.२८ प्रतिशत वृद्धि गर्दै १० अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। एशियन लाइफ इन्स्योरेन्सको व्यवसाय १०.८६ प्रतिशत बढेर ८ अर्ब ७१ करोड रुपैयाँ तथा सानिमा रिलायन्स लाइफको १२.५६ प्रतिशत वृद्धि भई ६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा उच्च ३०.७९ प्रतिशत व्यवसाय वृद्धि गर्दै ६ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। वृद्धिदरका आधारमा कम्पनी पहिलो स्थानमा रहेको छ।
यस्तै, मेट लाइफको व्यवसाय १०.१२ प्रतिशत बढेर ६ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको १८.७३ प्रतिशत वृद्धि भई ५ अर्ब ४१ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १४.८८ प्रतिशत वृद्धि भई ५ अर्ब २२ करोड रुपैयाँ तथा सन नेपाल लाइफको २.५९ प्रतिशत वृद्धि भई ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
वि.सं.२०८३ असार १२ शुक्रवार १७:४६ मा प्रकाशित














