back
Close [x]
rudrakshaByavasayi Ad long banner

बदलिँदो अटो बजारको ऐना भएर ‘नाडा अटो शो’ को आयोजना हुनेछ : महासचिव मल्ल

वि.सं.२०८३ भदौ ७ आइतवार

30 

shares

नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो–२०२६ यही भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा भव्यताका साथ प्रस्तुत गर्ने तयारी गरिएको छ । यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा प्यासेन्जर कार भेहिकल ब्रान्ड, १७ वटा लाइट कमर्शियल भेहिकल ब्रान्ड, १३ वटा दुईपांग्रे सवारीसाधन ब्रान्ड, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, ल्युब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य अटोमोटिभ उत्पादन र सेवासम्बन्धी स्टल रहनेछन् ।

नयाँ मोडलहरूको लन्चिङसँगै ह्युमानोइड रोबोट तथा स्मार्ट मोबिलिटी र दिगो विकासमा केन्द्रित नाडा अटो शो भव्य हुने आयोजक टिमहरू दाबी गर्दै आएका छन् । करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने ६ दिने प्रदर्शनीमा करिब दुई लाख दर्शकको सहभागी हुने नाडाको अपेक्षा छ । नाडा अटो शोको तयारी, सहभागी ब्रान्ड तथा प्रदर्शक, यस वर्षका नयाँ आकर्षण, नेपाली अटोमोबाइल बजारको अवस्था र आगामी दिनमा नेपालको मोबिलिटी क्षेत्रले लिन सक्ने दिशाका विषयमा केन्द्र न्युजले नाडाका महासचिव मिलन बाबु मल्लसँग गरेको कुराकानीको सम्पादित अंशः

नाडा अटो शो को तयारी कहाँ पुग्यो ?  यसपटकको शो कस्तो बनाउने तयारीमा हुनुहुन्छ ?

-नाडा अटो शो हाम्रो नियमित वार्षिक कार्यक्रम भए पनि हरेक संस्करणलाई नयाँ ऊर्जा र नयाँ विषयवस्तुसहित प्रस्तुत गर्ने हाम्रो प्रयास हुन्छ । यसपटक त झन् नाडाको ५०औँ स्थापना वर्षसँग जोडिएको भएकाले यसको महत्व अझ बढी छ । हामीले प्रदर्शनीलाई केवल स्टल राख्ने र गाडी देखाउने कार्यक्रममा सीमित गर्न चाहेका छैनौं । दर्शकले नयाँ सवारीसाधनसँगै प्रविधि, सेवा, चार्जिङ पूर्वाधार, वित्तीय सुविधा र अटोमोबाइल उद्योगमा भइरहेका परिवर्तनबारे पनि जानकारी पाउने वातावरण बनाउने प्रयास गरेका छौं ।

हरेक वर्ष नाडा अटो शो हुन्छ । यो संस्करणमा अघिल्ला संस्करणकाेभन्दा फरक के देख्न पाइन्छ ?

-अहिलेको बजार नै अघिल्ला वर्षभन्दा फरक छ । त्यसैले शो पनि फरक हुनुपर्छ । पहिले उपभोक्ताको मुख्य चासो नयाँ गाडी, मूल्य र डिजाइनमा केन्द्रित हुन्थ्यो । अहिले त्यसमा प्रविधि, सुरक्षा, विद्युतीय सवारी, चार्जिङ, सञ्चालन खर्च, डिजिटल फिचर, फाइनान्सिङ र आफ्टर–सेल्स सर्भिस पनि जोडिएको छ । त्यसैले हामीले यसपटक अटो शोको दायरा विस्तार गरेका छौं । सवारीसाधनसँग सम्बन्धित सम्पूर्ण इकोसिस्टमलाई एउटै प्लेटफर्ममा देखाउने प्रयास हाम्रो छ ।

तपाईंले ‘अटोमोबाइल इकोसिस्टम’ भन्नुभयो । यसलाई सामान्य दर्शकले कसरी बुझ्ने ?

–आज एउटा गाडी बेचेर मात्र अटोमोबाइल व्यवसाय पूरा हुँदैन । गाडी किनेपछि ग्राहकलाई फाइनान्स चाहिन्छ, बीमा चाहिन्छ, सर्भिस चाहिन्छ, पार्टपुर्जा चाहिन्छ । ईभी हो भने चार्जिङ चाहिन्छ । त्यसमा सफ्टवेयर, डिजिटल प्रणाली र प्राविधिक जनशक्ति पनि जोडिन्छ । यसरी हेर्दा अटोमोबाइल आफैँमा एउटा ठूलो आर्थिक प्रणाली हो । त्यसमा धेरै व्यवसाय, रोजगारी र सेवा क्षेत्र जोडिएका छन् । अटो शोले यही सम्पूर्ण संरचना देखाउने अवसर दिन्छ ।

यसपटकको अटो शोमा ईभीको उपस्थिति कस्तो रहनेछ ?

-ईभी अहिले बजारको महत्वपूर्ण हिस्सा बनेको छ । त्यसैले यसको उपस्थिति स्वाभाविक रूपमा बलियो हुन्छ । उपभोक्तामा पनि विद्युतीय सवारीसाधनप्रति चासो बढेको छ । तर नाडा अटो शोलाई ईभीको मात्र शोका रूपमा बुझ्नु हुँदैन । किनभने हामी सबै प्रकारका सवारीसाधन र प्रविधिलाई स्थान दिइरहेका छौं । उपभोक्ताको आवश्यकता एउटै हुँदैन । कसैका लागि ईभी उपयुक्त हुन सक्छ, कसैका लागि अन्य प्रविधि ठिक लाग्न सक्छ । त्यसैले विकल्प र जानकारी उपलब्ध गराउनु हाम्रो भूमिका हो ।

नाडा अटो शोमा आएर गाडी बुकिङ गर्न चाहेन वा अन्य सवारी किन्न चाहने उपभोक्तालाई के सुझाव दिनु हुन्छ ?

-सबैभन्दा पहिले आफ्नो आवश्यकता बुझ्नुपर्छ । परिवारका लागि हो कि व्यवसायका लागि, शहरमा बढी चलाउने हो कि लामो दूरीमा, दैनिक कति किलोमिटर चलाउने हो—यी कुरा महत्वपूर्ण छन् । त्यसपछि गाडीको मूल्य मात्र होइन, सञ्चालन खर्च, सर्भिस, पार्टपुर्जा, बीमा, फाइनान्सिङ, सुरक्षा र भविष्यमा आउने खर्चसमेत हेर्नुपर्छ । अटो शोमा एउटै ठाउँमा धेरै विकल्प भएकाले उपभोक्ताले तुलना गर्न सक्नुहुन्छ । हाम्रो सुझाव पनि यही हो—हतारमा निर्णय नगर्नुस्, पर्याप्त जानकारी लिएर निर्णय गर्नुस् ।

अटो शोमा नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धा हुन्छ । यसले बजारलाई के फाइदा पूर्याइरहेको छ कि प्रतिस्पर्धा बढाइ रहेको छ ? के देख्नु हुन्छ ?

–नयाँ मोडल र नयाँ प्रविधि आउनु बजारका लागि सकारात्मक हो । यसले कम्पनीहरूबीच पनि प्रतिस्पर्धा बढाउँछ । प्रतिस्पर्धा बढेपछि कम्पनीहरूले उत्पादनसँगै सेवा र ग्राहक अनुभवमा पनि सुधार गर्नुपर्ने हुन्छ । अन्ततः त्यसको फाइदा उपभोक्तालाई पुग्छ । अटो शो नयाँ उत्पादन सार्वजनिक गर्ने उपयुक्त प्लेटफर्म पनि हो, किनभने एकै ठाउँमा धेरै सम्भावित ग्राहक र उद्योगका सरोकारवाला उपस्थित हुन्छन् ।

अहिले नेपालमा नयाँ–नयाँ ब्रान्ड प्रवेश गरिरहेका छन् । बजारमा यही सबै ब्रान्ड टिक्छन् ?

–नयाँ ब्रान्ड आउनु आफैँमा समस्या होइन । बजारमा प्रतिस्पर्धा बढ्नु उपभोक्ताका लागि अवसर हो । तर उपभोक्ताले ब्रान्डको नाम मात्र हेरेर निर्णय गर्नु हुँदैन । कम्पनीको दीर्घकालीन प्रतिबद्धता, सर्भिस नेटवर्क, पार्टपुर्जाको उपलब्धता र ग्राहक सेवा पनि हेर्नुपर्छ । त्यसैले नयाँ ब्रान्ड आएपछि त्यसले बजारमा कस्तो सेवा दिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

अन्तर्राष्ट्रिय कम्पनीलाई नेपालमा आकर्षित गर्न नाडा अटो शोले कस्तो भूमिका खेल्न सक्छ ?

–नाडाले सरकारको भूमिका लिन सक्दैन, तर उद्योग र अन्तर्राष्ट्रिय व्यवसायबीच पुलको भूमिका खेल्न सक्छ । नेपालको बजार, यहाँको सम्भावना र व्यवसायिक वातावरणबारे अन्तर्राष्ट्रिय कम्पनीलाई जानकारी गराउनु, नेपाली व्यवसायीलाई विदेशी साझेदारसँग जोड्नु र सम्भावित सहकार्यका लागि प्लेटफर्म उपलब्ध गराउनु नै नाडा अटो शोको भूमिका हो । र, अटो शो यसका लागि राम्रो सुरुवात हुन सक्छ ।

नाडा अटो शोमा बिक्री बढाउनु मुख्य लक्ष्य हो कि ब्रान्ड प्रवर्द्धन ?

–बिक्री र व्यवसायिक गतिविधि अटो शोको स्वाभाविक हिस्सा हो । सहभागी कम्पनीहरू आफ्नो उत्पादन र सेवा प्रस्तुत गर्न आउँछन् । तर नाडाको दृष्टिले अटो शोको सफलता बिक्रीको संख्याले मात्र निर्धारण हुँदैन । उद्योगका विभिन्न पक्षबीच सम्पर्क बन्नु, उपभोक्ताले नयाँ प्रविधि बुझ्नु, नयाँ व्यवसायिक सम्भावना सिर्जना हुनु र बजारमा स्वस्थ प्रतिस्पर्धा बढ्नु पनि उत्तिकै महत्वपूर्ण हो ।

अटो शोमा दर्शकको भीड त हुन्छ, तर वास्तविक खरिदकर्ता कति हुन्छन् भन्ने प्रश्न पनि उठ्छ। तपाईं के भन्नुहुन्छ ?

–अटो शोमा आउने हरेक व्यक्ति तत्काल गाडी किन्ने ग्राहक नहुन सक्छ । तर त्यसले अटो शोको महत्व घटाउँदैन । आज गाडी नकिन्ने व्यक्ति भोलि ग्राहक बन्न सक्छ । विद्यार्थी, युवा वा प्रविधिमा रुचि राख्ने व्यक्ति भविष्यको उपभोक्ता वा व्यवसायी हुन सक्छ । त्यसैले अटो शोको प्रभाव तत्काल बिक्रीभन्दा पनि व्यापक हुन्छ ।

नाडाको ५०औँ स्थापना वर्षसँग जोडिएको यसपटकको अटो शोको विशेष के हुनेछ ?

-पाँच दशक लामो यात्रा आफैँमा महत्वपूर्ण उपलब्धि हो । यसले नाडा र नेपाली अटोमोबाइल क्षेत्रले पार गरेको यात्रालाई सम्झने अवसर दिएको छ । तर ५० वर्ष पूरा हुनु भनेको विगतमा मात्र फर्किने समय होइन । अब अर्को ५० वर्षमा अटोमोबाइल क्षेत्र कहाँ पुग्छ भन्ने सोच्ने समय पनि हो । त्यसैले हामी यसपटकको अटो शोलाई भविष्यतर्फ हेर्ने अवसरका रूपमा लिएका छौं ।

‘मेड इन नेपाल’ र स्वदेशी उत्पादनलाई अटो शो  कस्ताे स्थान दिइएकाे छ ?  

-नेपालमा अटोमोबाइलसँग सम्बन्धित धेरै क्षेत्रमा स्वदेशी क्षमता विकास गर्न सकिन्छ । सबै कुरा एकैपटक नेपालमै उत्पादन हुन्छ भन्ने होइन । तर, पार्टपुर्जा, कम्पोनेन्ट, सेवा, प्राविधिक जनशक्ति, उपकरण र विभिन्न सहायक क्षेत्रमा नेपाली उद्योगलाई विस्तार गर्न सकिन्छ । स्वदेशी उत्पादन र मूल्य अभिवृद्धि बढाउन सकियो भने रोजगारी र अर्थतन्त्र दुवैमा योगदान पुग्छ ।

अटोमोबाइल क्षेत्रका व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?

-दीर्घकालीन रूपमा व्यवसाय गर्न स्थिर र पूर्वानुमान गर्न सकिने वातावरण आवश्यक हुन्छ । अटोमोबाइलमा ठूलो लगानी हुन्छ । त्यसैले नीतिगत परिवर्तन हुँदा व्यवसायीले त्यसलाई सहज रूपमा योजना बनाउन सक्ने अवस्था हुनुपर्छ । त्यसका अतिरिक्त उपभोक्ताको क्रयशक्ति, वित्तीय वातावरण, पूर्वाधार र बजारको माग पनि महत्वपूर्ण विषय हुन् । यी सबै विषयलाई समग्र रूपमा हेर्नुपर्छ। अटोमोबाइल क्षेत्रको विषय गाडी आयात वा बिक्रीमा मात्र सीमित छैन । यससँग राजस्व, यातायात, ऊर्जा, वातावरण, वित्तीय सेवा, रोजगारी, पूर्वाधार र प्रविधि जोडिएका छन् । त्यसैले सरकार, व्यवसायी र अन्य सरोकारवालाबीच नियमित संवाद आवश्यक छ । ठूलो प्लेटफर्म भएकाले अटो शोले यस्तो संवादका लागि वातावरण बनाउन सक्छ ।

अन्त्यमा, नाडा अटो शो २०२६ मा किन घुम्नै पर्छ ?

-नाडा अटो शोमा आउनु भनेको नयाँ गाडी हेर्नु मात्र होइन, नेपालको अटोमोबाइल क्षेत्र कुन दिशामा अघि बढिरहेको छ भन्ने प्रत्यक्ष अनुभव गर्नु हो । यसपटक हामीले सवारीसाधनसँगै प्रविधि, सेवा, पूर्वाधार, वित्तीय क्षेत्र, अन्तर्राष्ट्रिय व्यवसायिक सम्भावना र उद्योगको भविष्यलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरेका छौं ।

त्यसैले म सबैलाई एउटा आग्रह गर्न चाहन्छु, अटो शोमा आउनुस्, गाडी हेर्नुस्, तर गाडीभन्दा अगाडि बढेर प्रविधि, सम्भावना र भविष्य पनि हेर्नुस् । नाडा अटो शो २०२६ लाई एउटा प्रदर्शनी मात्र होइन, नेपाली अटोमोबाइल क्षेत्रको भविष्यबारे सोच्ने साझा मञ्च बनाउनु हाम्रो उद्देश्य हो ।

वि.सं.२०८३ भदौ ७ आइतवार २१:२८ मा प्रकाशित