काठमाडौं । अर्थमन्त्रीको सचिवालयले शेयर बजारमा देखिएको उतारचढावका बीच लगानीकर्तालाई अफवाहको पछि नलाग्न आग्रह गरेको छ। नयाँ सरकार गठनपछि पनि बजारमा अपेक्षित सुधार नदेखिएको भन्दै लगानीकर्तामा बढेको आक्रोश र निराशाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ।
शुक्रबार जारी सन्देशमा सचिवालयले पूँजी बजारका आधारभूत सूचकहरू सकारात्मक दिशामा अघि बढिरहेको र बजार सुधारका लागि सरकारले आवश्यक नीतिगत तथा संरचनागत कदम चालिरहेको दाबी गरेको छ। हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको तथा सरकारले नियमित आम्दानी हुने करदातालाई आयकरमा छुट दिई खर्च र लगानी बढाउने नीति अवलम्बन गरेको उल्लेख गरिएको छ। साथै, राजस्व विवादमा परेका हजारौँ व्यवसायीलाई ऐतिहासिक छुट सुविधामार्फत पुनः व्यवसाय सञ्चालन गर्ने अवसर प्रदान गरिएको पनि सचिवालयले जनाएको छ।
सचिवालयले पछिल्लो समय शेयर बजारमा कृत्रिम हल्ला फैलाएर सर्वसाधारण लगानीकर्तालाई त्रसित बनाउने र अनुचित लाभ लिन खोज्ने समूह सक्रिय रहेको दाबी गरेको छ। सन् १९९१ मा भारतको मुम्बई शेयर बजारमा देखिएको ‘हर्षद मेहता’ प्रवृत्तिजस्तै गतिविधि दोहोर्याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू नियामक निकायको निगरानी तथा अनुसन्धानको दायरामा रहेको जनाएको छ।
सरकारले कम बोल्ने तर धेरै काम गर्ने नीति लिएको दाबी गर्दै सचिवालयले यही अवस्थाको फाइदा उठाएर केही समूहले भ्रामक प्रचार गरिरहेको आरोप लगाएको छ। “फलानालाई पक्राउ गरिँदै छ” वा “अनुसन्धान हुँदै छ” जस्ता प्रायोजित हल्ला फैलाएर बजारमा त्रास सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता अपुष्ट सूचनामा विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरिएको छ।
त्यसैगरी, क्लब हाउस, ह्वाट्सएप, मेसेन्जर समूह वा आफूलाई विज्ञ दाबी गर्ने व्यक्तिको अभिव्यक्तिका आधारमा लगानी निर्णय नगर्न पनि सचिवालयले सुझाव दिएको छ। शेयर बजारको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, जोखिमको मूल्याङ्कन गर्न तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनाका आधारमा मात्रै निर्णय लिन लगानीकर्तालाई आग्रह गरिएको छ।
सचिवालयले लगानीकर्तालाई धैर्य गर्न आग्रह गर्दै सरकारले पारदर्शी नेतृत्व र सक्षम आर्थिक व्यवस्थापनमार्फत नियामक निकायलाई थप प्रभावकारी बनाउने तथा पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। साथै, नयाँ आर्थिक वर्षको अवसरमा सम्पूर्ण लगानीकर्तालाई शुभकामना पनि व्यक्त गरेको छ।
वि.सं.२०८३ साउन १ शुक्रवार १७:०५ मा प्रकाशित














