काठमाडौं । जीडब्लूएमको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली बिक्रेता कम्पनी भीजी इम्पेक्सले उक्त गाडी सार्वजनिक गरेको हो ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा सुविधाहरू समावेश भएको यो गाडी नेपाली बजारमा सर्वाधिक रुचाइने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सकारात्मक प्रतिक्रिया पाएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ ।
नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरेको भीजी इम्पेक्सले बताएको छ । साथै, यो गाडी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपियाँ निर्धारण गरिएको छ ।
यो गाडीले एकपटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन्छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोर मुनरुफ, प्रिमियम सिट,३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचरहरू यस गाडीमा समावेश छन् ।
सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५ स्टार एएनक्याप तथा ५ स्टार युरी एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा २४ भन्दा बढी एड्मान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिम क्रुज कन्ट्रोल, सामान राख्न मिल्ने ३ स्टोरेज स्पेसहरू तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन् ।
जीडब्लूएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ । कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ । साथै, ३५ वर्षभन्दा लामो अनुभव, अनुसन्धान तथा विकासमा गरिएको लगानी तथा उत्पादन गुणस्तरका कारण जीडब्लूएम विश्वका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्दै विश्वस्तरीय प्रविधि, सुरक्षा तथा प्रिमियम अनुभव ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गरे । यस्तै ओरा ५ ईभीले नेपालमा स्मार्ट, सुरक्षित तथा वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास कम्पनीको छ । विश्वव्यापी सफलता, आधुनिक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रतिस्पर्धी मूल्यका कारण ओरा ५ ईभी नेपाली विद्युतीय सवारी बजारको प्रमुख आकर्षण बन्ने कम्पनीको ठहर छ ।
वि.सं.२०८३ असार ९ मंगलवार ०८:४४ मा प्रकाशित



















